बैतडी –बैतडीको पुर्चौंडीमा आँखा उपचार केन्द्र स्थापना भएको छ । हाट–वसन्तपुर बजारमा आँखा उपचार केन्द्र स्थापना गरेर सेवा सुरु गरिएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले जानकारी दिए ।
च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा पुर्चौंडी नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सो आँखा उपचार केन्द्रको एक कार्यक्रमकाबीच मंगलबार उद्दघाटन गरिएको वडा अध्यक्ष गडालले बताए ।
नगरपालिका क्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि अब आँखाको समस्या भएका बिरामीहरुलाई सहज भएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । आँखा सम्बन्धि आधारभूत उपचारका लागि अब अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
पुर्चौंडीमा आँखा उपचार केन्द्र सञ्चालनका लागि च्यारिटी हेल्थ फाउण्डेसनले उपकरण सहयोग गरेको र नगरपालिकाले कर्मचारीको व्यवस्था गरेको वडा अध्यक्ष गडालले बताए ।
यसैबीच पुर्चौंडी नगरपालिकाको हाटमा मंगलबारदेखि तीनदिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविर निशुल्क आँखा जाँच, निशुल्क औषधि वितरण, निशुल्क चश्मा वितरणका साथै निशुल्क शल्यक्रिया सेवा सञ्चालन भइरहेको बताइएको छ ।
पुर्चौंडी नगरपालिका, च्यारिटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको संयुक्त सहकार्यमा शिविर सञ्चालन भइरहेको वडा अध्यक्ष गडालले बताए । कार्तिक २४ गते सम्म सञ्चालन हुने शिविरमा सहभागी भइ सेवा लिन समेत पुर्चौंडीबासीलाई आग्रह गरिएको उनले बताए ।





