
बैतडी –नेपाली कांग्रेस बैतडीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा शनिबार बसेको बैठकले पाटन नगरपालिकामा नेपाली कांग्रेसबाट नगरकार्यपालिका सदस्यमा चुनिएका रमेशराम कोलीको पद खारेजका लागि निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कोलीले नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्टलाई असहयोग गर्दै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई सहयोग गरेको भन्दै कांग्रेसले यसअघि नै कारवाही गरिसकेकाले पद खारेजीका लागि आग्रह गरिएको नेपाली कांग्रेसका सचिव देवराज जोशीले बताए ।
यस्तै नेपाली कांग्रेसले कारवाही गरेका महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारी, प्रदेश महाधिवेशन प्रतिनधि भीम नाथ, क्रियाशील सदस्य गणेशबहादुर चन्द, दलित संघ जिल्ला अध्यक्ष रमेशराम कोली, सुर्नया ४ का सभापति जयसिंह महरा, पाटन नगरसभापति मानबहादुर ऐर, मेलौलीक सुरेन्द्र भट्ट र परमानन्द पन्तलाई गरिएको कारवाहीलाई जिल्ला कार्यसमितिले अनुमोदन गरेको सचिव जोशीले बताए ।
यस्तै महाधिवेशन प्रतिनिधि सरस्वती कोली र सिगास गाउँकार्य समितिका उपसभापति धनबहादुर साउँदलाई गरिएको कारवाही अनुमोदन गर्ने निर्णय भएको उनले बताए ।
यस्तै निर्वाचनको समयमा गठबन्धन र कांग्रेसका उम्मेदवारलाई असहयोग गर्नेको खोजी गरी कारवाही गर्ने निर्णय समेत भएको छ । जिल्लाको १० ओटै स्थानीय तहमा पार्टीको बैठक बस्ने र चुनावी समीक्षा गर्ने भएको बताइएको छ ।
यस्तै बैठकले चुनावका समयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टलाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । यस्तै प्रतिनिधि सभा सदस्यमा निर्वाचित दामोदर भण्डारी र प्रदेश सभामा निर्वाचित सुरेन्द्र पाललाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको सचिव जोशीले बताए ।
नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि पार्टीका तर्फबाट हरसम्भव प्रयास गर्ने निर्णय भएको सचिव जोशीले बताए ।