Sagun Khabar
बैतडीमा महिला टि–२० क्रिकेट : फाइनलमा देहीमाण्डौं र त्रिपुरा भिड्ने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी महिला टि–२० क्रिकेटको फाइनलमा दनपा २ देहीमाण्डौं र दनपा ८ त्रिपुरा भिड्ने भएका छन् । आज भएका सेमीफाइनल खेलमा दनपा ६ लाई हराउँदै दनपा २ देहीमाण्डौं फाइनलमा प्रवेश गरेको हो भने दनपा १० लाई हराउँदै दनपा ८ त्रिपुरा फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । 

निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा भएको पहिलो सेमीफाइनल खेलमा दनपा २ देहीमाण्डौंले दनपा ६ थालिगडालाई ११९ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको दनपा २ देहीमाण्डौंले ७ विकेटको नोक्सानीमा १९६ रन बनायो । उसका लागि मीना रावतले सर्वाधिक ४४ रन बनाइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

१९७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ६ थालिगडा २० ओभर खेली ७७ रनमा समेटियो । सो खेलमा दनपा २ देहीमाण्डौंकी मीना रावत ओमन अफ द म्याच घोषित भइन् । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ८ त्रिपुराले दनपा १० बाराकोटलाई ३४ रनले पराजित गर्दै फाइनलमा आफ्नो सीट सुरक्षित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ८ त्रिपुराले ८ विकेटको नोक्सानीमा १४५रन बनायो । उसका लागि रेनु पेलाले सर्वाधिक ३१ रन बनाइन् । 

१४६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा १० बाराकोट १११ रनमा अलआउट भएको क्रिकेट प्रशिक्षक दीपक बोहराले बताए । सो खेलमा लगतार तीन विकेट लिएकी दनपा ८ त्रिपुराकी जानकी मौनी ओमन अफ द म्याच घोषित भइन् । 

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगितामा आयोजना गरेको हो । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफी,मेडल र प्रमाण पत्र,द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेनलाई १५÷१५ सय, अनुशासित टीमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफी र प्रमाण पत्र दिइने जनाइएको छ ।

प्रतियोगिताको समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने प्रशिक्षक दीपक बोहराले बताए ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update