Sagun Khabar
बैतडीमा महिला टि–२० क्रिकेटको उपाधि देहीमाण्डौंले जित्यो 

बैतडी –बैतडीको  दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय  महिला टि–२०  क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहीमाण्डौंले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहीमाण्डौंले उपाधिमाथि कब्जा जमाएको हो ।  

उपाधि हात पारेसंगै देहीमाण्डौंले नगद २५ हजार, ट्रफी र मेडल हात पार्यो ।  त्रिपुराले भने नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।  

जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहीमाण्डौंले ७ दशमलब ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । जसमा  कप्तान पिंकी बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् ।  त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनीले १÷१ विकेट हात पारिन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहीमाण्डौंका लागि  निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३÷३ विकेट हात पारिन् । देहीमाण्डौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी छन् ।  

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् ।  

यस्तै १० विकेट हात पारेकी देहिमाण्डौंकी बसन्ती  बोहरा उत्कृष्ट बलर,१४९ रन बनाएकी देहिमाण्डौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी प्रिंयान्सी चन्द उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको प्रशिक्षक दीपेन्द्र बोहराले  बताए । 

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाका सहयोगमा नगरखेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो । 

यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही  १५० का दरले खेलाडीलाई नगद दिइएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । 

यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको छ । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया,अञ्जली चन्द, द्रोपती कुँवर,रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।   

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले  खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र  खेलाडीको क्षमता अभिवृद्धिसंगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए ।  नगरले बार्षिक क्यालेन्डर निकालेर त्यसमा खेलकुद प्रतियोगिताका कार्यक्रमहरु बढीभन्दा बढी राखिने उनले दाबी गरे । 

दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरेको र निकट भविष्यमै अन्य खेलकुदका प्रतियोगिता सञ्चालन गरिने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update