Sagun Khabar
बैतडीको डोल गाउँ नै पहिरोको जोखिममा 
फाइल फोटो : दोगडाकेदार ६ सित्तडको डोलमा खसेको पहिरो   

बैतडी -जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड डोलका लोगसिंह भाटको घरको आँगन पहिरोले लगिसकेको छ । लगातारको बर्षाले यो घर नै बगाउने खतरा बढेको उनले बताए । उनले भने,‘पहिरोले चारैतिर जमीन बगाईसकेको छ । बस्ती नै जोखिममा परेको छ । अन्त जान पनि आर्थिक अवस्था कमजोर छ । जोखिम मोलेर बसीरहेका छौं ।’

भाट जस्तै डोलमा अहिले करीब एक सय परिवार पहिरोकै जोखिममा बसेका छन् । वि.सं २०१८ सालदेखि खस्न थालेको थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘बर्षातको समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहा नै हुँदैन । हरेक बर्षातमा अनिदो रात काट्नु पर्छ ।’स्थानीय भोजराज जोशीले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा छन् । भित्रभित्रै जमीन भासिएपछि घरहरु बांगा भएका हुन् । पहिरोको जोखिममै बाध्यता बस्नुपरीरहेको छ ।’

किसानले हिउँदको समयमा बनाएका गराहरु प्रत्येक बर्षातमा पहिरोले बगाउँछ । खेतमा लगाएको बाली सहित पहिरोले बगाउँदा किसानहरुलाई भोकमरीको समेत समस्या हुने गरेको छ । डोल पहिरोले अहिले सम्म ९ जनाको ज्यान लिइसकेको छ भने २ सय बढी रोपनी खेतीयोग्य जमीन बगाइसकेको छ । अहिले पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएको जोशीले बताए । उनले भने ‘२०१८ सालमा एक्कासी पहिरो खसेको हो भन्छन् । उतिबेलादेखि हामी गाउँलेहरु पहिरोको जोेखिममा बसीरहेका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालिन राजा विरेन्द्रले हुकुम प्रवांगी समेत दिएका थिए । तर राजनीतिक खीचातानी भएपछि डोलबासीको अन्यत्र बसाई सर्ने  सपना अधुरै रह्यो । आर्थिक अवस्था सबल भएकाहरु सबैले तराईतिर जमीन किनेर उतै गइसकेका छन् । तर गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य भएका छन् । पछिल्लो समयमा पहिरोले विकराल रुप लिन थालेको स्थानीबासी देवदत्त जोशीले बताए । उनले भने ‘अहिले त पहिरोको जोखिम नभएको कुनै ठाउँ नै छैन् । बर्षातको बेला जाग्राम बसेर रात काट्नुपर्छ ।’

पहिरोले प्रत्येक बर्ष खानेपानीको मूहान बगाउँदै आएको छ । ‘हिउँदको समयमा पानीको मूहान खोजेर धारा बनाउँछौं । तर प्रत्येक बर्ष बर्षातमा पहिरोले पानीको मूहान नै बगाउँछ । त्यसपछि पहिरोसंगै बगिरहेको धमिलो पानी प्रयोग गर्न बाध्य भएका स्थानीय बहादुर भुलले बताए । उनले भने ‘हामीले बनाएका पानी घट्ट,बाटो सबै पहिरोले बगाईसकेको छ । बर्षातको समयमा हामीलाई निकै सकस हुने गरेको छ ।’

डोल बस्तीमा करीब ५५ दलित परिवारको बस्ती रहेको छ । आफ्नो सबै जमीन बगाएपछि उनीहरुले अहिले अर्काकै जमीनमा बसीरहेका छन् । ‘हाम्रो घरखेत पहिला नै पहिरोले बगाईसकेको हो । अहिले अर्काको जमीनमा घर बनाएर बसेका छौं । तर यो ठाउँमा पहिरोले बगाउन थालेपछि कहाँ जाने भन्ने चिन्ता छ ।’स्थानीय काशीराम लुहारले भने, ‘ठाउँठाउँमा खसेका पहिरोले गाउँ नै सेताम्य छ । पहिरोको बीचमा हामी बसीरहेका छौं । अन्यत्र जान कहिँ ठाउँ छैन । किन्नका लागि पैसा छैन् । त्यसैले जोखिममै बसीरहेका छौं ।’

डोलबस्तीसंगै गौंकुरा बस्ती पनि पहिरोकै जोखिममा छ । पहिरोका कारण खेतीयोग्य जमीन र घरहरु नष्ट भएपनि जोखिममै बस्नुपरेको स्थानीयबासीको गुनासो छ । डोलबासीले आफूहरुको अन्यत्र बसोबासका लागि २०१८ सालदेखि नै पहल गर्दै आएका छन् । हरेक सरकारबाट बस्ती स्थानान्तरणको आश्वासन समेत पाउने गरेका छन् । तर सरकारको आश्वासन आश्वासनमै सीमित छ । 

पछिल्लो एक हप्तादेखिको लगातारको बर्षाले गाउँका स्थानीयबासीहरु समस्या परेका छन् । गाउँमै पुरै पहिरो खस्ने डर रहेको स्थानीयहरुको भनाई छ । 


 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update