Sagun Khabar
बैतडीका ३० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा 

बैतडी –बैतडीका ३० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै पारित गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिरोको जोखिममा रहेको जनाइएको छ । 

दोगडाकेदार गाउँपालिकाको वडा नं ६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं ८ को कालागाउँ, वडा नं ३ कुकुडेपानी र श्रीकोटमा पहिरोको उच्च जोखिम रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै मेलौली नगरपालिकाको वडा नं १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं ३ को कुचगाड,गगनरोडा,पोखरी, वडा नं ७ को तोल्या, वडा नं ८को ल्वास, गैरी, मटुवा, खोली, वडा नं ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिरोको जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकाको वडा नं ६ को बांगाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिरोको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । 

यसैगरी सुर्नया गाउँपालिकाको वडा नं ८ ढोल्या, वडा नं ३ भौनेली, पाटन नगरपालिकाको वडा नं ८ सिद्धेश्वर  पनि पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ ।

यसैगरी सिगास गाउँपालिकाको ढुंगाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ को गनकट्टे,चनतडा,बसेक, सन्तुला, डिम्बर र वडा नं ६ को रोडीदेवल बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । 

यसैगरी पुर्चौंडी नगरपालिका ८ मल्लादेही पनि पहिरोको जोखिममा रहेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोको उच्च जोखिम भएका स्थानहरुको पहिचान गरी क्षति न्यूनीकरणका लागि पूर्वतयारी समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘हामीले पहिरोको उच्च जोखिम भएका क्षेत्रहरुको पहिचान गरेर पूर्व तयारी गरेका छौं । पहिरो, बाढीबाट क्षति नहोस भनेर स्थानीय तहहरुलाई पनि तयारीमा रहन भनेका छौं ।’

पहिरोको उच्च जोखिम रहेका स्थानीय तहहरुलाई आ–आफ्नो क्षेत्रमा पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । उनले भने ‘अहिले स्थानीय तहहरुमा केही ठाउँमा विपद् व्यवस्थापन योजना बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले पनि तहहरुहरुसंग छलफल गरेको छ । विपद् जोखिम न्यूनीकरणका लागि हामीले आ–आफ्नो क्षेत्रबाट पहल गरिरहेका छौं ।’ 
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update