बैतडी- बैतडीको झौलेकमा जिप दुघर्टना पछि फरार रहेका चालक पक्राउ परेका छन् । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा ढोल्यामोडबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
पक्राउ परेका चालक बोहरा माथी सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी निरीक्ष खत्रीले बताए । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा बmझाङ केदारस्यू बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए।
दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए। उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । चालक र सवारी धनि सम्पर्कमा आएर केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन्।
भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्। ओभरलोडका कारण उकालो सडकमा एक्कासी जिप ब्याक भएर भीरमा खसेको थियो। दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएपछि बझाङको केदारस्युँ गाउँपालिका ५ स्थित बाँझ गाउँ शोकमा डुबेको छ ।
बाँझ गाउँका ६ जनाको एकै चिहान भएपछि गाउँ नै शोकमा डुबेको हो । भारतमा मजदुरी गरेर बिसुका लागि घर फर्किरहेका एकै गाउँका ६ जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको केदारस्युँ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहनसिंह ठगुन्नाले बताए । अहिले चौंडेल्ली र बाँझ गाउँ शोकमा डुबेको उनले बताए ।





