Sagun Khabar
सुदूरपश्चिममा गौरा पर्व : आज ‘नानी गौरा’ मनाइँदै 

बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग, तील लगायतका वनस्पतीहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताइन् । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । उनले भनिन् ‘आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रही आएको छ । बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।’

आज ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर दिउँसो सामूहिक रुपमा गौरादेवी पूजाआज गर्ने गर्दछन् । विभिन्न सगुन र फागमार्फत गौरादेवीको पूजाआजा आराधना गर्दै बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको दोगडाकेदार गाउँपालिका–४ की गंगा शर्माले बताइन् । 

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘गौरापर्व यो क्षेत्रको ठूलो पर्व हो । गौरादेवीको प्रसाद ग्रहणका लागि घरबाहिर रहेकाहरु समेत घरमा आउने गरेका छन् ।’

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो  । अमुक्ताभरण सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । सप्तमीका दिन नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । 

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्षको गौरा कृष्ण पक्षमा परेको छ । 

गाउँघरमा आजभोलि गौरा पर्वको रौनक छाएको छ । परदेशमा रहेकाहरु पनि गौराका लागि घर फर्केका छन् । बसाइँसराई गरेर गएकाहरु गौराका लागि थातथलोमा फर्केपछि गाउँघरमा चहलपहल बढेको छ । 

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा खेलेर रमाइलो गर्ने गरिन्छ । तर पछिल्लो समयमा सांस्कृतिक खेलहरु भने लोप हुँदै गएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update