बैतडी -नयाँ वर्षको पहिलो दिन आज बैशाख १ गते । बैतडी सहित सुदूरपहाडमा नयाँ वर्षलाई बिसु पर्वका रुपमा धुमधाम संग मनाइँदै छ । बैशाख १ गतेलाई सुदूरपश्चिमेलीहरुले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । विशेष गरि बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिसु पर्वको रौनकता छाएको छ ।
खासगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ,डोटी, अछाम, बाजुरा लगायत जिल्लामा बिसु पर्व हर्षाेल्लास साथ मनाइन्छ । बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व हो । यो पर्वमा प्रदेश गएकाहरु पनि गाउँघर आएकाले बिसुको छुट्टै प्रकारको रौनकता छाएको स्थानीय प्रकाश भट्टले बताए ।
यस्तै यो पर्वका धार्मीक तथा साँस्कृतिक महत्वहरु पनि रहि आएका छन् । बिसुको दिन सिस्नो लगाउने चलन रहि आएको छ । बिहानै उठेर नदि तलाउमा गएर स्नान गरिन्छ । बैतडीमा अयारको पात शरिरमा लगाएर स्नान गर्ने चलन रहेको स्थानीय प्रविन धामीले बताए । बिसु पर्वको बिहान बिस बग्यो, बिस बग्यो भन्दै स्नान गर्ने चलन रहि आएको उनले बताए । यसले शरिरको सबै बिस पखालिने विश्वसा छ ।
बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र साथै सिस्नो लगाउने चलन पनि रहि आएको स्थानीय राजमती भट्टले बताइन । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउँछन् ।
यस्तै देवर नहुने र नन्दन हुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् । बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने गरिएको संस्कृतिका जानकार बताउँछन् । बिसुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ ।
दिन घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहिआएको पण्डीत खेमराज भट्टले बताए । बिहानै नुवाईधुवाई गरेर विभिन्न मठमन्दिरहरुमा पूजाआजा गर्ने चलन समेत रही आएको उनले बताए । बिसु बिग्रे बर्ष बिग्रिन्छ भन्ने मान्यता अनुसार नयाँ बर्षलाई बिसु पर्वको रुपमा मनाउने चलन रही आएको पनि उनले बताए ।
कामको सिलसिलामा बाहिर रहेकाहरू बिसु मनाउन घर फर्किने गरेकाले यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिने गरिएको उनले बताए । प्रदेश भएका र घर देशकै विभिन्न ठाउँमा रहेकाहरु समेत बिसु मनाउन गाउँपसेकाले अहिले गाउँघरमा रमाइलो भएको छ । पछिल्लो समय सुदूरपहाडमा मात्रै नभएर तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।





