बैतडी- बैतडीको भुमिराज मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । सुर्नया गाउँपालिका वडा नं ७ पत्थरककोट चौथालि स्थित भुमिराज मन्दिरमा लागेको रतेडी जात्रा सम्पन्न भएको स्थानीय दिपेश कुँवरले जानकारी दिए । शुक्रबार बिसु पर्वका दिन भुमिराज मन्दिरमा रतेडी जात्रा लागेको उनले बताए ।
भुमिराज मन्दिरमा प्रत्येक वर्ष बिसु पर्वको दिन राति जात्रा लाग्ने गरेको थियो । तर अहिले भने १२ वर्ष पछि जात्रा लागेको हो । गाउँमा जुठो परेपछि यो मन्दिरमा जात्रा नलाग्ने गरेको स्थानीय कुँवरले बताए । गाउँमा कुनै पनि मान्छेको मृत्यु भएमा मन्दिरमा जात्रा रोकिने गरेको उनको भनाई थियो । अहिले वर्षाे पछि मन्दिरमा पुजापाठ सहित जात्रा सम्पन्न भएको बताइएको छ ।
यस्तै मन्दिरमा बोकाको बलि दिइएको छ भने भक्तजनहरुले भाकल अनुसार चिनोबानो समेत चढाए छन । जात्राको समयमा भुमिराज मन्दिरमा सुर्नया गाउँपालिकाका साथै बसाइ सराइ गरेर कैलाली कञ्चनपुर गएका नागरिकहरु समेत पुजापाठ गर्न आउने गरेका छन् ।
पुजापाठ सहित भुमिराज मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । बिसु पर्वमा लागेको जात्रामा सयौँ भक्तजनहरुले पुजापाठ सहित भुमिराजको दर्शन गरेका जनाइएको छ ।





