Sagun Khabar
बैतडीमा जोशी हत्या प्रकरणः गाउँकै युवा संलग्न, खोजि गर्दै प्रहरी

बैतडी-  बैतडीका जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको पाइएको  छ । दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रमुख  प्रहरी नायब उपरीक्षक प्रेम बहादुर  शाहीले  जानकारी दिए ।

गाउँकै एक जना युवाले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको खुल्नमा आएको  उनले  बताए  । संलग्न व्यक्तिको परिचय खुलिसकेको र खोजिकार्य भइरहेको डीएसपी शाहीले बताए । ‘हत्यामा संग्लगन गाउँकै युवा रहेको पाइएको छ, उनि फरार छन्, खोजिका लागि सुरक्षाकर्मी  परिचालन गरिएको  छ,’ उनले भने । स्थानीयहरुले  एक जना युवालाई घटनास्थलमा देखेको थियो । हत्या घटनामा संग्लगन ती युवकको  नाम भने प्रहरीले गोप्य राखेको छ ।

हत्या घटनामा अरुपनि संलग्न  हुनसक्ने अनुमान प्रहरीको छ । जोशीलाई गत चैत २९ गते एक महिलालाई कुटपिट गरेको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय पुगेर दुबै पक्षकाबीच मिलापत्र भएको थियो। घटना गत फागुनतिर भएको र दुबै पक्षबीच पुनः बिवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमती भएपछि घर फर्किएको प्रहरीले जनाएको छ।

योजनाबद्ध तरिकाले गरिएको  घटनाको  सत्यतथ्य छानविन गरि दोषिमाथि कडा कारबाही हुनुपर्ने  आफन्तहरुको  माग छ । मृतक जोशीको शव अहिले  जिल्ला अस्पताल बैतडीमा  राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी  निरीक्षक योगेश खत्रीले  बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update