बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले विद्यार्थी भर्ना हुँदा खोप कार्ड अनिवार्य गरेको छ । पाँच वर्ष मुनिका बालबालिका भर्ना हुँदा नगरपालिकाले खोप कार्ड अनिवार्य गरेको हो । दनपा पूर्णखोप युक्त पालिका भएकाले छुटेका बालबालिकालाई खोप दिने उदेश्यले भर्ना हुँदा खोप कार्ड अनिवार्य गरेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्टले बताए ।
सुरुमा भर्ना हुन आउने बालबालिकाले प्राप्त गर्ने विसिजी, डिपिटी,हेपबि–हिब , पोलियो लगायतका खोप पाए नपाएको सुनिश्चतता गर्न खोजिएको उनले बताए । चालु शैक्षिक शत्रमा भर्ना हुन आउने ५ वर्ष मुनिका विद्यार्थीको अनिवार्य खोप कार्ड चेक गर्न र कुनै विद्यार्थी खोप अपूर्ण हुन आएमा सो को जानकारी यस कार्यालयमा गराएर पूर्णखोपयुक्त पालिका सुनिश्चित गर्ने हाम्रो प्रयासमा सहयोग गर्न अनुरोध छः शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
‘दशरथचन्द नगरपालिका यस अघि नै पूर्ण खोपयुक्त पालिका भइसकेको हो, बालबालिकाले प्राप्त गर्ने सबै खोप लगाए, नलागएको हेर्नका लागि अहिले कार्ड अनिवार्य गरिएको हो, उदेश्य सबै बालबालिका खोपयुक्त हुन भन्ने हो,’ शिक्षा शाखा प्रमुख भट्टले भने । छुटेका भए खोप लगाइने बताइएको छ ।
बालबालिकाले यी खोप पाएको हुनु पर्छ ।
वि.सि.जी
यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।
डि.पि.टी– हेप÷ बि–हिब
यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
पोलियो
पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
एफआइपीभी
यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ ।
पि.सी.भी.
यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
दादुरा–रुबेला
यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
जे.ई
यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।





