Sagun Khabar
बैतडीको मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी –बैतडीको मेलौलीमा यही वैशाख ८ गते शुक्रबारदेखि बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बैतडी समाज कैलालीको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा शिविर सञ्चालन गर्ने तयारी भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । 

शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । शिविरमा नाक, कान, घाँटी, आँखा र अन्य रोगहरुको समेत बिशेषज्ञ चिकित्सकहरुद्वारा उपचार गरिने चन्दले जानकारी दिए । 

आँखा शिविर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सञ्चालन हुनेछ भने अन्य रोगका लागि मणिलेक मावि काँडाको भवनमा शिविर सञ्चालन हुने बताइएको छ । 

दुर्गम क्षेत्रका नागरिकलाई एकीकृत रुपमा बिशेषज्ञ सेवा दिने उद्देश्य सहित बैतडी समाज कैलालीले हरेक बर्ष स्वास्थ्य शिविरको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए । 

तीनदिन सम्म सञ्चालन हुने शिविरको शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । 

शिविरमा आएर सेवा लिन सबैलाई आग्रह समेत गरिएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रका नागरिकलाई लक्षित गरेर सञ्चालन हुने शिविरमा आएर सेवा लिनका लागि आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । 

बृहत स्वास्थ्य शिविरबाट मेलौलीका मात्रै नभएर अन्य स्थानीय तहका नागरिकले समेत स्वास्थ्य सेवा पाउने मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । स्थानीय स्तरमा सञ्चालन हुने बिशेषज्ञ शिविरले नागरिकलाई फाइदा हुने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update