Sagun Khabar
झुलाघाटमा मोटरेबल पुल निर्माण हुने, भारतीय प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्यो 
फोटो: पुल निर्माण क्षेत्रको निरीक्षण गर्दै भारतीय प्राविधिक टोली, तस्बिर : प्रमोदकुमार भट्ट

बैतडी – भारतसंग सीमा जोडिएको झुलाघाटस्थित महाकाली नदी माथि मोटरेबल पुल निर्माण हुने भएको छ । नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण समेत गरिएको छ । 

उत्तराखण्डको अल्मोडा र पिथौरागढ जिल्लाका प्राबिधिकहरुले बुधबार पुल निर्माण हुने क्षेत्रको स्थलगत निरीक्षण गरेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । इन्जिनियर ओम प्रकाश  नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको उनले बताए । 

झुलाघाट नाकामा अहिले झण्डै दुई सय बर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ । यो नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ बाटै चर्चा शुरु गरिएको भएपनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने संकेत देखिएको छ । 

झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना रहेकोमा  पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन् । 

अब बन्ने बन्ने मोटरेबल पुल भारततर्फ  एसएसबी क्याम्प भन्दामाथि र नेपालतर्फ मौराभिरमा रहेको सशस्त्र प्रहरीको बीओपी नजिक पुल निर्माण स्थलको अवलोकन गरिएको हो । अब बन्ने पुलको लम्बाई ५ सय मिटरको हुने बताइएको छ । 

मोटरेबल पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ । त्यसअघिको सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि बेग्लै २० करोड रुपैयाँ लाग्ने अनुमान छ । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आसावादी देखिएका छन् । 

सीमा क्षेत्रका नागरिकले लामो समयदेखि झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि माग गर्दै आएका छन् । तर पनि अहिले सम्म पुल निर्माण हुन सकेको छैन् । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक क्षेत्रमा समेत सुधार आउने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा सुदूरपश्चिमको आर्थिक गतिविधि र व्यापारिक गतिविधिमा सुधार आउने उनले बताए । 

सीमा क्षेत्रमा लामो समयदेखि ‘रोटी–बेटी’को सम्बन्ध रहेको र झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा यो सम्बन्धमा थप प्रगाढ हुने पत्रकार भट्टले बताए । झुलाघाट नाकामा रहेको झोलुंगे पुल जीर्ण हुँदै गएकाले यसको मर्मत सम्भार गर्ने योजना समेत रहेको बताइएको छ । पुल मर्मत सम्भारको काम चाँडै हुने उनले बताए । उनले भने ‘अब झुलाघाट नाकामा मोटरेबल पुल निर्माण कार्य शुरु हुनेछ । अब दुवै देशको प्राविधिक टोलीले फेरी निरीक्षण गरेर काम अघि बढ्नेछ ।’


 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update