बैतडी –बैतडीको पाटन नगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ । बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाहलाई नगरपालिकाका तर्फबाट स्वागत गर्दै विभिन्न योजनासहित ११ बुँदे ज्ञापन पत्र बुझाएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
मुख्यमन्त्री शाहलाई बुझाएको ज्ञापन पत्रमा बैतडी विमानस्थल पाटनमा नियमित हवाई उडान व्यवस्था मिलाइ दिन आग्रह गरिएको छ । यस्तै पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन –लोर्खा खण्ड मर्मत नहुँदा समस्या भएकाले सो सडक मर्मतका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै पाटन नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल बिशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यसैगरी पाटन नगरपालिकाको वडा नं १,२,३, ४,७, ८, ९ र १० मा आलु,मकै, लसुन, प्याज, ओखर जस्ता बालीहरु अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यी वडाहरुमा बाली भण्डारण तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।
यस्तै पाटन नगरपालिका धार्मिक पर्यटकीय क्षेत्र भएकाले नगर क्षेत्रभित्र रहेका रामेश्वर धाम, स्वर्गेनी पीपल धाम, महारुद्र धाम, विश्वनाथ वनारसी धाम, पातालु भुवनेश्वर धाम, टुणे शिवलिंग धाम, समैजी सदाफल धाम,सिद्धनाथ उदयदेव धाम हुँदै पुनः रामेश्वर धाम जोड्ने सडक निर्माणका लागि बजेटको व्यवस्थापन गर्न माग गरिएको छ ।
यस्तै पाटनमा रहेको आँखा अस्पतालको स्तरोन्नती, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सुचारु, पाटन पञ्चेश्वर सडकका मजदुरहरुको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दी अनुसारका कर्मचारीको व्यवस्थापन गर्न माग गरिएको छ ।
यस्तै संघ र प्रदेश सरकारबाट सञ्चालनमा रहेका योजनाहरुको स्थानीय तहबाट अनिवार्य अनुगमनको व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।
पाटन नगरपालिकाले बुझाएको ज्ञापन पत्रमा पाटन क्षेत्रमा प्रदेश मातहतका कार्यालय स्थापनाका लागि नगरपालिकाले जमीन उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले नगरपालिकाले राखेका माग सम्बोधनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।
मुख्यमन्त्री शाहसंगै बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेश सभा सदस्य शिवराज भट्ट समेत टोलीमा रहेका छन् । मुख्यमन्त्री शाहले आजै कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने भोलि झुलाघाट नाकाका निरीक्षणका साथै मेलौलीमा बृहत स्वास्थ्य शिविरको उद्दघाटन गर्ने कार्यक्रम समेत रहेको छ ।







