बैतडी- बैतडीमा आमाको मुख हेर्ने दिनमा वृद्धआमाहरु सम्मानित भएका छन् । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा २१ जना वृद्धआमाहरु सम्मानित भएका हुन् । जिल्लाको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयले माता तिर्थ औंसीको अवसरमा २१ जना वृद्ध आमाहरु लाई फूलमाला, टिका, फलफूल र खादाबाट सम्मान गरेरको विद्यालयले जनाएको छ ।
बिहीवार एक औपचारिक कार्यक्रमको आयोजन गरेर विद्यालय सेवा क्षेत्रभित्रका कर्तेकोट, सिलंगापानी, धारापानी, हुक्केडाँडा, सल्लेबासा, गैराखान, रागांजुजौना, रुईसानी कट्याल, हरिचन लगायतका टोलहरुका ६५ बर्ष भन्दा माथी उमेर भएका २१ जना आमाहरु लाई सम्मान गरिएको विद्यालयका लेखापाल असोक सिंह महराले बताए ।
वृद्ध आमाबुबाहरुलाई माया सम्मान गर्नु पर्छ भन्ने भावना बालबालिकामा जगाएर समाजमा सहि सनदेश दिने उदेश्यले वृद्धआमाहरुलाई सम्मान गरिएको विद्यालय परिवारले जनाएको छ । विद्यालयले २०७४ सालदेखी हरेक वर्षको मातातिर्थ औंसीको अवसरमा आमाहरु र कुशे औंसीको अवसरमा वृद्ध बुबाहरुलाई सम्मान गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताए । यी सम्मानका कार्यक्रमबाट सामाजिक सदभावमा वृद्धिगराएको उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा संचालन गरिएको सम्मान कार्यक्रममा स्थानीय , जनप्रतिनिधी, पाटन नगरपालिका वडा नं ९, का वडा सचिव, अभिभावक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । २०१८ सालमा स्थापना भएको जिल्लाकै तिनतारे सिद्धेश्वर माविले बालबालिकाको पठनपाठन संगसंगै रचनात्मक कार्य गर्दै आईरहेको छ। शैक्षिक सुधारका कार्य्रमका साथै सिद्धेश्वर मावि समाजिक कार्यममा पनि सरिक हुँदै आएको छ ।





