Sagun Khabar
बैतडीको सुर्नयामा नियम विपरीत ‘स्वकीय सचिव’लाई तलब भत्ता 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले नियम विपरीत अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर तलब भत्ता दिँदै आएको खुलेको छ । गाउँपालिकाले कार्यविधि समेत नबनाएर स्वकीय सचिवलाई तलब भत्ता दिँदै आएको हो । 

अध्यक्ष अम्मरबहादुर कुँवरको स्वकीय सचिवलाई मासिक ३४ हजार र उपाध्यक्ष मञ्जु बोहराको स्वकीय सचिवलाई मासिक ३२ हजारका दरले तलब भुक्तानी हुँदै आएको छ । 

अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव राख्ने निर्णय गएको पौष १० गतेको कार्यपालिका बैठकले गरेको थियो । स्वकीय सचिवहरुलाई पौष ११ गते नियुक्ती दिने निर्णय भएको थियो । तर उनीहरुले गएको साउनदेखि नै तलबभत्ता बुझिरहेका पाइएको हो । 

करार सम्झौता भएको मितिभन्दा अगाडिबाटै स्वकीय सचिवलाई तलब भत्ता दिएको भन्दै यो बिषयमा गाउँपालिकाको चर्को आलोचना भएको छ । ऐन नियम विपरीत गाउँपालिकाले हचुवाका भरमा नियुक्ती दिएर राज्यकोषको दुरुपयोग भएको भन्दै स्थानीय नागरिक आक्रोशित समेत भएका छन् । 

यो बिषयमा प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई बुझ्दा आफू आउनुभन्दा पहिला नै यो निर्णय भएको जानकारी दिए । पालिकाले कार्यविधि बनाएर स्वकीय सचिव राख्न पाउने भएपनि कार्यविधि नबनेको उनले बताए । उनले भने ‘यो बिषयमा कमजोरी भएको छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरेर अगाडि बढ्छौं ।’ 

नियम विपरीत राखिएका स्वकीय सचिवहरुलाई तलब भत्ता खुवाउन अध्यक्ष, उपाध्यक्षले नै दबाब दिएको बताइएको छ । उनीहरुकै दबाबका कारण टिप्पणी उठाएर स्वकीय सचिवहरुलाई तलब भत्ता निकासा गरिएको दाबी गरिएको छ । 

अध्यक्ष तथा उपाध्यक्षले पाउने सुविधा भन्दा स्वकीय सचिवहरुलाई बढी सुविधा दिइएको भन्दै सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुको चर्को विरोध गरिएको छ । सामाजिक सञ्जालमा समेत पालिकाका जनप्रतिनिधिहरुले गरेको यो कार्यको विरोध गरिएको छ । 

यो बिषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले कार्यविधि नबनाउनु आफूहरुको कमजोरी रहेको स्वीकार्दै तत्कालै यो बिषयमा कानुन सम्मत तरीकाले अघि बढ्ने बताए । कार्यविधि बनाएर यो बिषयमा टुंगो लगाइने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update