बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका स्वकीय सचिवले अहिले सम्म प्राप्त गरेको सेवा सुविधा बाफतको रकम फिर्ता दाखिला गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले नियम विपरीत स्वकीय सचिव राखेर तलब भत्ता दिएको बिषयमा व्यापक आलोचना भएपछि गाउँपालिकाले सेवा सुविधा बाफतको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको हो ।
गाउँपालिकाको पौष १० गते बसेको कार्यपालिका बैठकले स्वकीय सचिव राख्ने निर्णय गर्दै उनीहरुलाई पौष ११ गते करार नियुक्ती दिएको थियो । अध्यक्षको स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्षको स्वकीय सचिवलाई ३२ हजार मासिक दिने गरिएको थियो । सम्झौता पौषमा गरेको भएपनि उनीहरुलाई साउनबाटै तलब भत्ता उपलब्ध गराइएको थियो ।
नियम विपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाएको बिषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो भने सञ्चार माध्यमहरुमा समेत समाचार प्रशारण र प्रकाशन भएको थियो ।
स्वकीय सचिवसंग सम्बन्धित समाचारका बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले स्वकीय सचिवहरुले अहिले सम्म तलब बाफत बुझेको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ । अध्यक्षस्तरको बैठकबाट सो सम्बन्धी कार्यविधि नबनुञ्जेल सम्मका लागि स्वकीय सचिवहरुलाई अवकाश दिने निर्णय समेत भएको गाउँपालिकाका प्रवक्ता प्रताप महराले जानकारी दिए ।
गाउँपालिकाले आइतबार एक विज्ञप्ती जारी गर्दै स्वकीय सचिवहरुलाई सोमबारदेखि लागु हुने गरेर अवकाश दिने निर्णय भएको जनाएको छ ।






