बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको आँखा शिविरबाट झण्डै ५ सय जनाले सेवा लिएका छन् । गेटा आँखा अस्पताल कैलालीको आयोजना तथा जिल्ला अस्पताल बैतडीको समन्वयमा दुई दिन सम्म सञ्चालन भएको शिविरबाट ४९२ जनाले सेवा लिएका जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए ।
शिविरमा ९२ जनाको निशुल्क रुपमा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रिया भएसंगै ९२ जनाको दृष्टि फर्किएका छन् । मोतीबिन्दुका कारण दृष्टि गुमाउनु परेका नागरिकको दृष्टि फर्किएको हो ।
शिविरमा आँखाको चेकजाँच, निशुल्क चश्मा वितरण र मोतीबिन्दुको निशुल्क रुपमा शल्यक्रिया गरिएको थियो । शनिबार र आइतबार गरेर दुई दिन सम्म सञ्चालन भएको शिविरमा बैतडीसहित दार्चुलाका नागरिकले समेत सेवा लिएका महराले बताए ।
गेटा आँखा अस्पताल कैलालीले प्रत्येक बर्ष पहाडी जिल्लाहरुमा समेत आँखा शिविर सञ्चालन गर्दै आएको छ । आँखाको उपचारबाट टाढा रहेका नागरिकहरुलाई उनीहरुकै घरदैलोमा सेवा दिने उद्देश्यसहित आँखा शिविर सञ्चालन गरिएको गेटा आँखा अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।





