बैतडी –बैतडीमा विद्युतका ४ ओटा सवस्टेशनहरु निर्माण भइरहेका छन् । जिल्लाको पाटन र मेलौलीमा सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने सिल्लेगडा र विन्द्रावनमा सवस्टेशन निर्माणको प्रक्रिया शुरु भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।
विद्युत सवस्टेशन निर्माण सम्पन्न भएपछि विद्युत प्रशारणमा सहजता आउने उनले बताए । अहिले बैतडी सदरमुकाममा रहेको सवस्टेशनबाटै जिल्लाभरी विद्युत प्रशारण भइरहेको छ । कुनै ठाउँमा विद्युतमा समस्या आएमा जिल्लाभरी बन्द गर्नुपर्ने अवस्था रहेको छ । सवस्टेशनहरु निर्माण सम्पन्न भएमा विद्युत प्रशारणमा सहजता आउने नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख भट्टले बताए ।
पाटन, मेलौली, सिल्लेगडा र विन्द्रावनमा सवस्टेशन सञ्चालनमा आएमा जिल्लाका सबैतिर सहज रुपमा विद्युत प्रशारणमा सहजता हुने बताइएको छ । मेलौलीमा निर्माण भइरहेको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । सिभिल तर्फको सकिएर इलेक्ट्रीकल काम मात्रै बाँकी रहेको छ ।
त्यस्तै पाटनमा सवस्टेशनको सिभिल तर्फको काम अन्तिम चरणमा पुगेको छ । सिल्लेगडा र विन्द्रावनमा सवस्टेशन निर्माणका लागि सार्वजनिक सुनुवाई सम्पन्न गरेर काम अघि बढेको कार्यालय प्रमुख भट्टले बताए । उनले भने ‘सवस्टेशन निर्माण कार्य सम्पन्न भएपछि विद्युत प्रशारणमा निकै सहजता हुनेछ । कलकारखाना उद्योग धन्दा सञ्चालनका लागि पनि सहज हुनेछ ।’
मेलौलीमा ३३ केभी प्रशारणका लागि विद्युत सवस्टेशन निर्माण भइरहेकाले तल्लोसोराड क्षेत्रमा विद्युत प्रशारणका लागि सहयोग पुग्ने बताइएको छ ।





