बैतडी –बैतडीका स्थानीय तहहरुले खाना र खानेपानीमै लाखौं खर्च गर्ने गरेका छन् । जिल्लाका विभिन्न स्थानका नागरिक खानेपानीको समस्या झेलीरहेका बेला जनप्रतिनिधिहरुले भने लाखौं खर्च गर्ने गरेको पाइएको हो ।
विविध खर्चमा पनि स्थानीय तहहरुले मनपरी खर्च गर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा यस्ता खर्चहरुमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको भएपनि पालिकाहरुले त्यता तर्फ ध्यान दिन सकेका छैनन् । यसले गर्दा प्रत्येक बर्ष बेरुजु रकम बढ्दै गएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷७८ मा दशरथचन्द नगरपालिकाले खानेपानी र बिजुली शीर्षकमा १९ लाख ११ हजार खर्च गरेको छ । यस्तै पाटन नगरपालिकाले सोही शीर्षकमा १० लाख ३८ हजार खर्च गरेको छ । शिवनाथ गाउँपालिकाले १० लाख ६ हजार पाँच सय खर्च गरेको पाइएको छ ।
मेलौली नगरपालिकाले खाना तथा विविध खर्चको शीर्षकमा ८ लाख ७९ हजार खर्च गरेको पाइएको छ । यस्तै सुर्नया गाउँपालिकाले खानेपानी तथा बिजुली शीर्षकमा ५ लाख ७० हजार, सोही शीर्षकमा सिगास गाउँपालिकाले ५ लाख ४० हजार खर्च गरेको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाले खानेपानी तथा बिजुली शीर्षकमा ५ लाख ४० हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पालिकाहरुले खानेपानीमै लाखौं खर्च गर्दा कतिपय ठाउँका स्थानीयहरु भने खानेपानीका लागि घण्टौं टाढा जानुपर्ने बाध्यता रही आएको छ । स्थानीय सरकारले नागरिकको आवश्यकता अनुसार काम नगरेको भन्दै गुनासो बढ्दै गएको छ ।





