बैतडी –बैतडीका विभिन्न ठाउँमा रहेका पसलहरुमा अखाद्य तथा म्याद नाघेका सामग्री विक्रि वितरण हुने गरेको छ । बजार अनुगमनमा स्थानीय सरकारहरुले ध्यान दिन नसक्दा पसलहरुबाट त्यस्ता सामग्री विक्रि हुने क्रम रोकिएको छैन् ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा प्रत्येक बजारका पसलहरुमा अखाद्य सामग्री भेटिने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । उनले भने ‘प्रशासन कार्यालयमा पनि कर्मचारीको अभावमा नियमित अनुगमन गर्न सकिएको छैन् । शनिबारको समय मिलाएर अनुगमन गर्नुपरीरहेको छ । हामीले अनुगमन गरेका ठाउँका पसलहरुमा म्याद नाघेका सामग्री फेला पार्ने गरेका छौं ।’
गएको शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ मा रहेका बजारहरुको अनुगमन गरेको सूचना अधिकारी बोहराले बताए । डिलाशैनीका २१ ओटा पसलहरुमा अनुगमन गर्दा २४ हजार ६२४ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय,खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । ग्रामीण क्षेत्रमा रहेका बजारहरुमा म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने क्रम अझै नरोकिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले बताए ।

अनुगमनका क्रममा उपभोक्ता हित र कानुन विपरीत म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने ९ जना पसलेलाई जरीवाना समेत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बोहराले बताए । ६ जनालाई जनही ५ हजार र ३ जनालाई जनही १० हजारका दरले जरीवाना गरिएको उनले बताए ।
सामग्री खरीद विक्रि गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद विक्रि गर्नुपर्ने भएपनि उपभोक्तामा समेत त्यस्तो चेतनाको विकास हुन सकेको छैन् । अझै पनि सामग्री किन्दा मितिका बिषयमा ध्यान दिने गरिएको छैन् । बजारबाट सामग्री खरीद विक्रि गर्दा उत्पादन मिति र उपभोग्य मितिका बारेमा कसैले चासो नदिने गरेको शिक्षक तिलक बोहराले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आफ्नो क्षेत्रभित्र रहेका बजारहरुको अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएपनि स्थानीय सरकारहरु भने त्यो जिम्मेवारीबाट पञ्छिने गरेका छन् । स्थानीय सरकारहरुले बजार अनुगमनमा ध्यान नदिँदा समस्या हुने गरेको छ ।






