बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६का वडा सदस्य ठगी साउँद मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी १०÷१५ दिन पहिला मदिरा सेवन गरेर वडा कार्यालयमा पुगेका भएपनि भिडियो भने अचेल भाइरल भएको हो ।
वडा अध्यक्ष नरेन्द्र साउँद कार्यालयको कामले नगरपालिका गएका बेला उनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो । कार्यवाहक बसेकै समयमा उनी मदिरा सेवन गरेर वडा कार्यालयमा पुगेका र कर्मचारीसंग विवाद भएको भिडियो सार्वजनिक भएको छ ।
मदिराले लट्ठ भएका वडा सदस्यले रजिष्टर हेरेको, कर्मचारीसंग विवाद गरिररहेको र लरबराएर बोलीरहेको कुरा भिडियोमा प्रष्ट देख्न र सुन्न सकिन्छ । सार्वजनिक पदधारण गरेका व्यक्ति नै यसरी कार्यालय समयमा मदिरा सेवन गरेर पुगेका भन्दै उनको व्यापक आलोचना भइरहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका साउँदलाई पार्टीले स्पष्टीकरण सोधीसकेको बताइएको छ ।
यस्तै वडा कार्यसमितिले पनि उनलाई यो बिषयमा सोध्नका लागि बोलाएको वडा अध्यक्ष साउँदले बताए । वडा सदस्यसंग छलफलपछि मात्रै यो बिषयमा आफूले थप बुझ्ने उनले बताए ।
जनप्रतिनिधि नै मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भन्दै वडा सदस्य साउँदको सामाजिक सञ्जाल फेसबुकमा व्यापक आलोचना भइरहेको छ ।





