Sagun Khabar
बैतडीमा दुम्सीका लागि थापेको पासोमा चितुवा पर्यो 
फाइल तस्बिर

बैतडी –बैतडीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका ९ भौतीका स्थानीयले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको सिगास गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष कृष्ण सिह धामीले जानकारी दिए ।

गएराती चितुवा पासोमा परेको बताइएको छ । पासो चितुवा फसेको जानकारी आएको र प्रहरीको टोली पनि घटनास्थल तर्फ हिँडेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पनि टोली आउन लागेको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक जोशीले बताए । डिभिजन वन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको छ ।

चितुवा फसेको ठाउँ नजिक नजान स्थानीयहरुले आग्रह गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ । अन्य जंगली जनावरका लागि थापेको पासोमा चितुवा मर्ने क्रम बढेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update