Sagun Khabar
पासोमा फसेको चितुवा पासो चुँडालेर भाग्यो 
फाइल फोटो

बैतडी –बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ । जिल्लाको सिगास गाउँपालिका ९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । 

चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको जानकारी आएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिप यादवले जानकारी दिए । चितुवा पासोमा फसेको जानकारी आएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो । 

पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बताए । उनले भने ‘पासोमा फसेको चितुवा भागेको जानकारी आएको छ । त्यसपछि निकुञ्जको टोली बाटोबाटै फर्किएको छ ।’

पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ । अन्य जंगली जनावरबाटा बालीनाली जोगाउन किसानहरुले थापेको पासोमा चितुवा परेर मर्ने क्रम बढेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । अहिले सम्म बैतडीमा पासोमा फसेर १२ चितुवा मरीसकेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update