Sagun Khabar
बैतडीका तीन स्थानीय तह ‘हाकिम विहिन’, कामकाज गर्नै समस्या 

बैतडी –बैतडीका तीनओटा स्थानीय तहमा ‘हाकिम’नहुँदा कामकाज गर्न समस्या भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका तीन महिनादेखि हामिक विहिन भएको छ । तीन महिना सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबारका सबै काम रोकिएका छन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली जनप्रतिनिधिहरुसंगको खटपटपछि कार्यालयमा आएका छैनन् । नगरपालिकामा अब भानुभक्त भट्ट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउन लागेका नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले भने ‘अब नगरपालिकाको काम अघि बढ्छ । हाकिम नहुँदा समस्या थियो । अब यो समस्या समाधान भइसकेको छ ।’

जिल्लाको सिगास गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझा अनिवार्य अवकाशमा परेको तीन महिना बितिसक्दा समेत प्रमुख प्रशासकीय अधिकृत कोही आएका छैनन् । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाका आर्थिक कारोबार लगायतका अन्य कामहरु रोकिएका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । पालिकामा हाकिम नहुँदा सबै काम चौपट भएका उनले बताए । 

यता पाटन नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे एक महिना नपुग्दै सरुवा भएपछि नगरपालिका हाकिम विहिन भएको हो । 

चालु आर्थिक बर्ष अन्तिमतिर भएपनि पालिकाहरु भने ‘हाकिम’कै अभाव झेलिरहेका छन् । पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका कामदेखि लिएर अन्य कामहरु ठप्प भएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकाहरुमा भुक्तानीका कामहरु रोकिएका छन् भने सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update