बैतडी –नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान मुख्यमन्त्री शाहको कार्यालयमा प्रमुख सचेत लेखक र मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीबीच भेटवार्ता भएको हो ।
उनीहरुबीचको भेटमा सुदूरपश्चिमको समग्र विकास, समसमायिक राजीतिक घटनाक्रम, प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार र अगामी बजेट निर्माणको विषयमा छलफल भएको लेखकसंगै रहेका नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले जानकारी दिए ।
गृहजिल्ला कञ्चपुर आउने क्रममा आजमात्रै कैलाली पुगेका प्रमुख सचेतक लेखक मुख्यमन्त्रीको आग्रहमा धनगढीस्थित मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
सो क्रममा प्रमुख सचेतक लेखकले सुदूरपश्चिममा पहिलो पटक कांग्रेसले प्रदेश सरकारको नेतृत्व पाएको र यो समयमा सुदूरपश्चिमको विकासका लागि कुनै पहलकदमी बाँकी नराख्न मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए । उनले प्रदेश सरकारले सक्ने विकास आयोजनाहरु प्रदेश सरकारले नै निर्माण गर्नुपर्ने र ठूला विकास आयोजनाहरुको लागि केन्द्र सरकारसँग माग गर्न केन्द्रबाट आफू पनि लागि परेको लेखकले बताए ।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीसंग पनि आगामी बजेट नागरिकका लागि आसा जगाउने खालको बजेट आउनुपर्नेमा जोड दिए ।
भेटका क्रममा मुख्यमन्त्री शाहले आफूहरुले यसपटक प्रदेशका योजनाहरु प्रक्रियागत रुपमा समावेश गर्ने तयारी गरिरहेको जानकारी दिए । नयाँ आर्थिक बर्षको बजेट निर्माणमा आफूहरु जुटेको बताउँदै मुख्यमन्त्री शाहले नागरिकले महसुस हुने गरेर बजेट ल्याउने बताए ।





