बैतडी-बैतडीको दशरथचन्द नगरपालिकाले मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरेको छ। नगरपालिकाले देहीमाण्डौँ, शाहिलेक, गोठलापानी गढी र झुलाघाट बजारमा सिसी क्यामरा जडान गरेको हो ।
नगरपालिकाको मूख्य बजारक्षेत्रमा १८ ओटा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राज बहादुर विष्टले जानकारी दिए । अन्य बजार क्षेत्रमा पनि आगमी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गरिने उनले बताए ।
अपराधिक क्रियाकलाप न्यूनीकरण गरि सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडान गरिएका नगरप्रमुख पुष्कर जोशी लख्खा भाइले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीको पहलमा सिसी क्यामेरा जडान भएका हुन् । बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीले निगरानी गर्ने गरि जडित सिसीक्यामेराले चोरी लगायतका अन्य अपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ ।





