बैतडी –बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना अन्तर्गत जग्गा एकीकरण अर्थात ल्याण्डपोलिङको काम पेचिलो बन्दै गएको छ । पाटन नयाँ शहर घोषणा भएको एक दशकभन्दा बढी भइसक्दा समेत जग्गा एकीकरणको काम अघि बढ्न सकेको छैन् ।
स्थानीयहरुले खेतीयोग्य जमीनलाई एकीकरण गर्न नमानेकै कारण ल्याण्डपोलिङको काम अगाडि बढ्न सकेको छैन् । ल्याण्डपोलिङको काम अगाडि नबढे नयाँ शहर आयोजनाका सबै काम अवरुद्ध हुने बताइएको छ ।
पाटन नगरपालिका वडा नं ६ का भित्र पर्ने केही ठाउँमा मन्त्रालयको टोलीसहित अनुगमन गरिएको छ । आइतबार नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा लगायत मन्त्रालयको टोलीले विभिन्न ठाउँमा स्थलगत अध्ययन गरेको छ ।
कुनगडा– बयलपाटा–पहरी गाउँ क्षेत्र, नागडीबाटा– सिद्धनाथ क्षेत्र, मेल्टडा क्षेत्र र खीपाली–पौडी क्षेत्रमा ल्याण्डपोलिङका लागि अध्ययन हुने छ । कुनगडा– बयलपाटा, पहरी गाउँ क्षेत्र सबै भन्दा उत्तम क्षेत्र रहेको प्रारम्भिक अध्ययनले देखाएको अध्ययन टोलीका प्रमुख विनोदचन्द्र आर्चायले बताए ।
पाटनमा ल्याण्डपोलिङको काम अघि नबढेका आगामी बर्षबाट नयाँ शहर आयोजना कार्यालयबाट कुनै निर्माणका योजना सञ्चालन नहुने आचार्यले बताए । पाटनलाई नयाँ शहर बनाउने योजना अगाडि नबढेमा कार्यालय समेत सर्ने उनले बताए ।
सरकारले घोषणा गरेका १० ओटा नयाँ शहरमध्ये बैतडीको पाटन र बाग्लुङको ढोरपाटन नगरपालिकाले ल्याण्डपोलिङको काम अघि बढाउन सकेका छैनन् ।
पाटन नयाँ शहरका लागि आवश्यक जग्गा ल्याण्डपोलिङ गर्ने नगरकार्यपालिकाले २०७७ मै निर्णय गरिसकेको छ । तर त्यो निर्णय भने कार्यान्वयन हुन सकेको छैन् ।
यहाँका नागरिकले व्यक्तिगत जग्गा नदिँदा र जग्गा एकीकरणलाई सडकले मास्ने जस्तो बुझेकाले समस्या आएको छ ।
अब पाटन नगरपालिकाले यसका लागि कठोर रुपमा अगाडी बढनु पर्ने समय आएको नगर उपप्रमुख बोहराले बताए । यो नयाँ सहरको योजनाबारे पहिले जनतालाई प्रष्ट योजना बनाउन आवश्यक रहेको उनको भनाई छ ।





