बैतडी –बैतडीको प्रदेश सभा क्षेत्र नं १ मा आगामी आर्थिक बर्षमा प्रदेश सरकारमार्फत सञ्चालन हुने योजनाका बिषयमा आज पालिकाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुसंग योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकार मातहत रहेका कार्यालयमार्फत सञ्चालन हुने योजनाहरु संकलन गर्ने र प्राथमिकीकरण गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए ।
प्रदेश सभा क्षेत्र नं १ अन्तर्गत रहेका पालिकाका प्रतिनिधिहरु समेतको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रदेश सभा क्षेत्र नं १ का प्रदेश सभा सदस्य सुरेन्द्र पाल र प्रदेश सभा सदस्य जानकी ऐर बमको पनि सहभागिता रहेको थियो ।
पालिकाहरुबाट आएका योजनाहरुलाई पछि प्राथमिकीकरण गरेर प्रदेश सरकारमा पठाइने जोशीले बताए । बैतडीमा प्रदेश सरकार मातहत १३ ओटा कार्यालय रहेका र ती कार्यालयमार्फत सञ्चालन हुने योजनाका बिषयमा गोष्ठीमा छलफल भएको हो ।
स्थानीय तहहरुबाट माग भइ आएका योजनाहरुको प्राथमिकीकरण गर्नका लागि जिल्लास्तरीय यही वैशाख २५ गते जिल्लास्तरीय बैठकको आयोजना गरिने र सो बैठकबाट पारित भएका योजनाहरुलाई प्रदेशमा पठाइने कार्यालय प्रमुख जोशीले बताए ।
सो बैठकमा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, कार्यालय प्रमुख लगायतको सहभागिता रहने जोशीले बताए ।





