Sagun Khabar
कहिले पाउला सुदूरपश्चिम सरकारले पूर्णता ? 

बैतडी – सरकार विस्तारमा सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा सुदूरपश्चिम सरकारले पूर्णत पाउन सकेको छैन् । उपनिर्वाचन लगत्तै प्रदेश सरकारले पूर्णता पाउने बताइएको भएपनि उपनिर्वाचन भएको १० दिन भइसक्दा समेत सुदूरपश्चिम सरकारले पूर्णता नपाएको हो । 

वैशाख पहिलो साता पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताएका थिए । तर अहिले सम्म सरकारले पूर्णता पाउने बिषयमा छलफल अगाडि बढ्न सकेको छैन् । 

सरकार विस्तार नहुँदा प्रदेशका चारवटा मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन रहेका छन् । मन्त्रालयको नेतृत्व गर्ने मन्त्री नहुँदा चालू वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेटका लागि योजना तर्जुको काम प्रभावित भएका छन् । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गत २६ पुसदेखि मन्त्रीविहीन छन् । 

गत मंसिरमा भएको निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि आएपछि २६ पुसमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उनको सरकार एक महिनामै ढल्यो । 

रावल पदमुक्त भएपछि २६ माघमा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट दुईतिहाइ मत पाए । सत्ता गठबन्धनबीच भागबन्डा नमिल्दा करिब तीन महिनासम्म पनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

सात सदस्यीय मन्त्रिपरिषदमा चार मन्त्रालय रिक्त छन् । सरकारमा अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री छन् । बाँकी चार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैँसँग राखेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update