बैतडी –प्रदेश सरकारले योजनाको खरीद विक्रि गरेको आरोप लागिरहेका बेला सुदूरपश्चिममा पहिलो प्रदेशका लागि स्थानीयस्तरबाट योजना छनौट कार्य भइरहेको छ । प्रदेशका सबै निर्वाचन क्षेत्रमा योजना तर्जमा गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलो पटक स्थानीय तहबाट योजना छनौट गर्न लागेको हो ।
स्थानीय नागरिकको आवश्यकतामा आधारित योजनाहरु प्रदेश सरकारले निर्माण गर्ने र ती योजनाहरुमात्रै कार्यान्वयनमा ल्याउने प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउँदै आएका छन् । प्रदेश सरकारका योजनाहरु विक्रि भएका भन्ने जनगुनासो बढेकाले स्थानीयस्तरबाट योजना छनोटको काम भइरहेको हो ।
बैतडीका दुईओटै प्रदेश सभा क्षेत्रमा योजना छनोटका लागि कार्यशाला गोष्ठी सम्पन्न गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए । स्थानीय तहबाट आएका योजनाहरुलाई प्राथमिकीकरणका आधारमा छनोट गरिने उनले बताए । उनले भने ‘प्रदेशका योजनाहरु छनौटका लागि पहिलो पटक स्थानीयस्तरबाट योजनाहरु माग गर्न कार्यशाला गरिएको हो । सबै तहबाट योजनाहरु आएका छन् ।’
दुवै प्रदेशसभामा प्रदेश सभा सदस्यहरुको सहभागितामा योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । दुवै गोष्ठीबाट प्राप्त भएका योजनाहरु जिल्लास्तरीय बैठकको आयोजना गरेर छलफल गर्ने सामाजिक विकास कार्यालयका प्रमुख जोशीले बताए ।
जिल्लास्तरीय बैठकमा प्रदेश सभा सदस्य, कार्यालय प्रमुख लगायतको सहभागिता रहनेछ । स्थानीयस्तरबाट प्रदेशका लागि योजना छनौट हुनु राम्रो कुरा भएको नागरिकले बताएका छन् ।
प्रदेश स्थापना भएयता पहिलो पटक स्थानीयस्तरबाट योजना छनौट हुँदा खुसी लागेको स्थानीय पुष्कर भट्टले बताए । स्थानीयस्तरमा भएका समस्यामा आधारित भएर योजना छनोट हुनुपर्नेमा उनले जोड दिए ।





