बैतडी –बैतडीमा प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ –श्रीभावर सडक अन्तर्गत थप १४ किलोमिटर कालोपत्रे हुने भएको छ । सतबाँझ श्रीभावर सडकखण्डको सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा रहेको र त्यो भन्दा अगाडि १४ किलोमिटर कालोपत्रे गर्न ठेक्का आह्वान भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए ।
थप १४ किलोमिटर कालोपत्रे गर्नका लागि भ्याट बाहेक ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको सूचना अधिकारी जोशीले बताए । तीन बर्षभित्र १४ किलोमिटर सडक कालापत्रे गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरिएको हो ।
गाडागाउँदेखि कठेगौंडा सम्म सो सडक कालोपत्रे हुने जोशीले बताए । कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नतीका लागि पनि ठेक्का आह्वान भएको छ । २० किलोमिटर अन्तर्गत सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यसका लागि १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ ।
सतबाँझ –श्रीभावर–हाट सडकलाई प्रदेश गौरवको योजनाको रुपमा राखिएको हुनाले सडकलाई चाँडै कालोपत्रे र स्तरोन्नती गर्ने कार्य सम्पन्न हुने बताइएको छ ।
अहिले श्रीभावरदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको छ ।
सतबाँझ–श्रीभावर–हाट सडक निर्माण भएमा बैतडी सदरमुकाम जोड्ने छोटो बाटोको रुपमा प्रयोगमा आउने बताइएको छ । बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकले सदरमुकाम जोड्ने छोटो सडकको रुपमा यसलाई प्रयोग गर्न सक्ने सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने ‘सतबाँझ–श्रीभावर सडक कालोपत्रेमा भएमा गाउँपालिकाको विकासमा थप टेवा पुग्नेछ । यसले नागरिकलाई पनि सहज हुनेछ ।’
सतबाँझ–श्रीभावर –हाट सडक सीमा नाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुनेछ । यो सडक बनेमा बझाङका नागरिक समेत लाभान्वित हुने बताइएको छ । यसले बैतडीको व्यापार व्यवसाय बढाउन मद्दत गर्ने बताइएको छ ।
सतबाँझ –श्रीभावर–हाट सडकलाई दार्चुलासंग जोड्ने भएकाले यो सडक थप प्रभावकारी हुने बताइएको छ । सतबाँझ श्रीभावर सडक बैतडीको मुख्य सडकको रुपमा रहेकाले यसलाई चाँडै स्तरोन्नती गर्नुपर्नेमा यहाँका नागरिकहरुले जोड दिएका छन् ।





