Sagun Khabar
गिट्टीको थुप्रोमा भेटिएको मानिसको टाउको परीक्षणका लागि अस्पतालमै, घटनाको अनुसन्धान हुँदैछ –प्रहरी 

बैतडी –बैतडीको पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा भेटिएको मानिसको टाउको कसको हो भन्ने अझै खुलेको छैन् । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएपछि त्यसलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

आइतबार नै टाउको परीक्षणका लागि अस्पतालमा पुर्याएको र रिपोट आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘फेला परेको टाउको हामीले परीक्षणका लागि जिल्ला अस्पतालमा पठाएका छौं । त्यहाँबाट रिपोट आउन बाँकी रहेको छ ।’

टाउकोको डिएनए परीक्षणका लागि समेत पठाइने प्रहरी निरीक्षक जोशीले बताए । घटनाको अनुसन्धान भइरहेको उनले दाबी गरे । 

यता बाचपानी क्षेत्रमा समेत प्रहरीले आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि सो क्षेत्रमा पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update