बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले खरीद गरेको ब्याक लोडर एक महिनामै बिग्रिएको छ । ५४ लाखको लागतमा खरीद गरिएको ब्याक लोडर एक महिनामै बिग्रिएपछि गाउँपालिकाको चर्को आलोचना समेत गरिएको छ ।
ब्याक लोडर खरीदमा कमीसनको खेल भएको आरोप समेत लाग्न थालेको छ । खरीद गरेको एक महिनामै बिग्रने मेसिन खरीदमा कैफियत रहेको नेपाली कांग्रेसका डिलाशैनी सभापति जयानन्द जोशीले बताए । नयाँ कम्पनीको ब्याक लोडर खरीद गरेर रकमको दुरुपयोग गरिएको उनको आरोप छ ।
खरीद गरिएको केही दिनमै ब्याक लोडर बिग्रिएपछि त्यसलाई मर्मत गर्न धनगढी पुर्याइएको छ । धनगढी ग्यारेजमा ब्याक लोडर थन्किएको भन्दै स्थानीयहरुले आपत्ती जनाएका छन् ।
ब्याक लोडर खरीदका बिषयमा आफूलाई कुनै जानकारी नभएको गाउँपालिकाका उपाध्यक्ष भगीरथ बोहराले बताए । ब्याक लोडर खरीदका बिषयमा आफूले समेत जानकारी नपाएको उनले बताए ।
यता गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले ब्याक लोडरमा समस्या देखिएपछि आफूहरुले कम्पनीलाई जेसीबी दिनुपर्ने माग राखेको बताए । खरीद गर्ने बेलामा राम्रो मेसिन भनेर भनिएको र पछि केही दिनमै मेसिनमा समस्या आएपछि आफूहरुले कम्पनीलाई अर्को मेसिन दिन आग्रह गरेको उनले बताए ।
बिग्रिएको ब्याक लोडर अहिले भने मर्मत भइसकेको छ । तर आफूहरुले कम्पनीलाई अर्को मेसिन दिनुपर्ने माग राखेको उनले बताए । उनले भने ‘मेसिनमा खराबी आएपछि हामीले कम्पनीलाई जेसीबी दिनुपर्यो भनेका छौं । नयाँ मेसिन त्यति राम्रो आएको छैन् भनेका छौं ।’





