बैतडी –विभिन्न पालिकाहरुले सञ्चालन गरेका एम्बुलेन्स गरिब नागरिकको पहुँच भन्दा बाहिर रहेका छन् । आकस्मिक बिरामीहरुलाई सुविधा सम्पन्न अस्पातलमा पुर्याउनका लागि एम्बुलेन्सको प्रयोग हुने भएपनि गरिब नागरिकको भने एम्बुलेन्समा पहुँच पुग्नै मुस्किल भएको छ ।
बैतडीका पुर्चौंडी, सिगास र डिलाशैनीबाहेक अन्य स्थानीय तहमा एम्बुलेन्स भएपनि आर्थिक अवस्था कमजोर भएका नागरिक त्यसको प्रयोग गर्न पाउने अवस्थामा नरहेका स्थानीयहरुको भनाइ रहेको छ ।
आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने भनेपनि पहुँच नभएकाहरुले सेवा पाउनै मुस्किल भएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । उनले भने ‘समान्य नागरिकको पालिकाहरुले सञ्चालन गरेका एम्बुलेन्समा पहुँच नै छैन् । भनसुनका आधारमा मात्रै एम्बुलेन्स उपलब्ध गराइन्छ ।’
बिहीबारमात्रै जिल्लाको पाटन नगरपालिका ४ जेउडेका मुटुरोगी मनिराम लावडलाई जिल्ला अस्पातलबाट अन्यत्र उपचारका लागि लैजानुपर्ने अवस्था आएको थियो । तर पाटन नगरपालिकाले निशुल्क एम्बुलेन्स उपलब्ध नगराएपछि शुक्रबार मात्रै जिल्ला अस्पतालको एम्बुलेन्सबाट पठाएको चन्द बताए ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत निशुल्क एम्बुलेन्स उपलब्ध हुने अवस्था नहुँदा समस्या हुने गरेको छ । जिल्लाका स्थानीय सरकारहरुले गरिब नागरिकको स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।





