बैतडी –भारतसंग सीमा जोडिएको झुलाघाट बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
सीमा क्षेत्रमा हुन सक्ने आपराधिक घटना, अवैध सामग्री ओसारपोसार तथा अन्य क्रियाकलाप रोक्नका लागि सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । सीसीटीभी क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सीमा क्षेत्रमा सुरक्षाको दृष्टिकोणले सीसीटीभी क्यामेरा आवश्यक भएकाले झुलाघाट बजारमा तीनओटा क्यामेरा जडान गरिएका प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘सीमा क्षेत्र सुरक्षाका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण क्षेत्र भएकाले हामीले झुलाघाटमा पनि क्यामेरा जडान गरेका छौं । यसले अपराध न्यूनीकरणमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा समेत सीमा क्षेत्रमा हुन अपराध न्यूनीकरण गर्ने सहमति भएकाले अपराध न्यूनीकरणमा सीसीटीभी क्यामेराले सहयोग गर्ने बताइएको छ ।
झुलाघाट नाकाबाट भन्सार छलेर सामग्री ल्याउने कार्यलाई निरुत्साहित गर्न पनि सीसीटीभी क्यामेराले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
झुलाघाटका साथै गढी, गोठलापानी, शाहीलेक, देहीमाण्डौ क्षेत्रमा पनि क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगरपालिकाका मुख्य बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडानका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । नगरका बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग गर्न क्यामेरा जडानमा सहयोग गरिएको उनले बताए ।





