बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं २ डुङ्गरीमा स्थानीयले गौरा घर निर्माणका लागि जग्गा दान गरेका छन् । गौरा घर अभावमा समस्या भैरहेकाबेला निर्माणका लागि स्थानीयहरुले जग्गादान गरेका हुन् ।
डुङ्गरी बस्ने हरिभक्त ऐरीका नाति, दौलत सिंह ऐरीका छोरा गाउँका मुखिया दान बहादुर ऐरी र लाल सिंह ऐरीका नाति मान सिंह ऐरीका छोरा वीर बहादुर ऐरीले गौरा घरको लागि जग्गा दान गरेका स्थानीय एवं काँग्रेसका युवा नेता चन्द्र सिंह ऐरीले जानकारी दिए ।
जग्गादान गर्ने दानबहादुर ऐरी वडा नं २ का निर्वाचित वडा सदस्य हुन् । समाजिक कार्यका लागि अग्रसर भएर निशुल्क जग्गा दान गर्ने जग्गा दाताहरुलाइ काँग्रेसका युवा नेता ऐरीले धन्यवाद व्यक्त गरेका छन् ।
यस्तै गौरा घर निर्माण कार्य पनि शुभारम्भ भएको छ ।
गाउँका मुखिया तथा वडा सदस्य दान बहादुर ऐरीले शुक्रबार एक कार्यक्रमका बिच गौरा घरको शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेशको बजेटबाट गौरा घर निर्माण भैरहेको बताइएको छ । अभावले समस्या भैरहेकाले निर्माणपछि गौरा पर्वमा स्थानीयहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।





