Sagun Khabar
महाकालीमा डुंगा नचल्दा तल्लोस्वराडका नागरिकलाई समस्या

 बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न घाटहरुबाट डुंगामार्फत आवतजावत गर्ने गरिएको छ । तर पञ्चेश्वर गाउँपालिका –४ स्थित हल्दुविनायक घाटमा भारतीय सुरक्षाकर्मीले डुंगा सञ्चालनमा रोक लगाएपछि आवतजावत गर्न समस्या भएको छ । 

सीमा क्षेत्रका नागरिक दैनिक उपभोग्य सामग्री, औषधोपचार लगायतका कामका लागि भारतीय बजारमा जाने भएपनि डुंगा सञ्चालनमा रोक लगाएपछि समस्या भएको छ । पञ्चेश्वर क्षेत्रमा महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा स्थानीयहरुले डुंगा मार्फत आवतजावत गर्ने गरेका छन् । तर हल्दुविनायक घाटमा भारतीय सुरक्षाकर्मीले डुंगा सञ्चालनमा रोक लगाएपछि समस्या भएको स्थानीयहरुले बताएका छन् । 

कोरोना महामारीका बेला २०७६ साल चैतमा डुङ्गा सञ्चालनमा रोक लगाइएको थियो । त्यसयता पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दु–विनायक घाटमा भारतीय सीमा सुरक्षा बलले डुङ्गा चल्न दिएको छैन । गाउँपालिकाले हल्दु–विनायक घाटमा डुंगा सञ्चालनका लागि ठेक्का गरेको भएपनि भारतीय सुरक्षकर्मीले अवरोध गर्ने गरेको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए । 

महाकाली तर्ने डुंगा बन्द हुँदा हुँदा धार्मिक पूजाआजा, वैवाहिक कार्य, औषधोपचारलगायतका काममा बाधा परेको वडा अध्यक्ष चन्दले बताए । उनले भने ‘तल्लोसोराडमा आधा दर्जन बढी घाट सञ्चालनमा छन् । तर हल्दुविनायक घाटमा मात्रै डुंगा चल्न दिएको छैन् । यसले दुवै देशका नागरिकलाई समस्या भएको छ ।’

बैतडीमा ६१ किलोमिटर सीमा भारतसंग जोडिएको छ । महाकाली नदीले सीमा छुट्याएको छ । झुलाघाट बाहेक सीमा क्षेत्रमा कतैपनि झोलुंगे पुल नहुँदा ट्युब र डुंगाको भरमा नदी वारपार गर्नुपर्ने बाध्यता रही आएको छ । 

सीमावर्ती भारतीय नागरिक समेत डुंगा सञ्चालन नहुँदा समस्यामा परेका छन् । नेपालमा रहेका धार्मिकस्थलमा पूजापाठका लागि हल्दुविनायक घाटबाट भारतीय नागरिक पनि आउने गरेका छन् तर डुंगा बन्द हुँदा समस्या भएको छ । यहाँका देवताल, शिवनाथ, गणमेश्वर, कैलपाल लगायतका मन्दिरको दर्शनका लागि भारतीय दर्शनार्थी आउने गरेका नागार्जुन माविका शिक्षक महामलसिंह साउँदले बताए । 

पञ्चेश्वर गाउँपालिकाले डुङ्गा चल्ने घाटमा बोलपत्र आह्वान गरेर ठेक्कासमेत दिइसकेको छ । डुङ्गा चलाउन स्थानीय सुरेन्द्र चन्दले ६६ हजार रुपैंयामा ठेक्का पाएका छन् । उनले एक लाख २० हजार रुपियाँ खर्च गरेर डुङ्गा निर्माण गरेर घाटमा पु¥याए पनि थन्किएको बताए । 

बैतडीको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नेपाल–भारत ओहोरदोहोर गर्ने आठवटा तार–उतार डुङ्गा घाट रहेका छन् । महाकाली तरेर नेपाल–भारत आवतजावत गर्न पञ्चेश्वर गाउँपालिका–१ मा रोल घाट, वडा नं. २ मा डिम्बर घाट, ढोया घाट, पञ्चेश्वर गाउँपालिका –४ मा हल्दु–विनायक घाट, मार्थला घाट र वडा नं. ५ मा बलारा, शिवनाथ गाउँपालिका–२ मा कुस्मत घाट र नागार्जुन घाट रहेका छन् । 

यी घाटहरुमध्ये हल्दुविनायक घाट बन्द रहेको वडा अध्यक्ष चन्दले बताए । पञ्चेश्वरको हल्दु–विनायक घाट सञ्चालन गर्न भारतीय पक्षसँग कुरा गरे पनि चासो नदिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update