बैतडी –बैतडीका दुईओटा नगरपालिका ‘हाकिम’विहिन भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका हाकिम विहिन भएका हुन् ।
आर्थिक बर्षको अन्त्यतिर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक काम समेत रोकिएका छन् । दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द केही दिन अघिमात्रै अनिवार्य अवकाशमा परेपछि नगरपालिका हाकिम विहिन भएको हो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाहरुको भुक्तानी रोकिएको छ भने कर्मचारीहरुको तलब समेत रोकिने अवस्था आएको छ । चालु आर्थिक बर्षमा निर्माण भएका धेरै योजनाहरु निर्माण सम्पन्न भइसकेर अनुगमन समेत भइसकेको अवस्थामा हाकिम नहुँदा भुक्तानीको काम रोकिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । उनले भने ‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै समस्या भएको छ । मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिए सजिलो हुन्थ्यो ।’
नगरपालिकामा हाकिम पठाउने बिषयमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले एक÷दुई दिनमा पठाउने भनेपनि अहिले सम्म पठाएको छैन् । नगरपालिकामै कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अख्तियारी समेत नदिएको सूचना अधिकारी बिष्टले बताए । उनले भने ‘आर्थिक बर्षको अन्त्यतिर हाकिम नहुँदा धेरै काम रोकिएका छन् । यसले गर्दा समस्या भएको छ ।’
यता पाटन नगरपालिका पनि हाकिम विहिन रहेको छ । नगरपालिकामा हाकिम नहुँदा प्रायः सबैजसो कामहरु ठप्प रहेका उपप्रमुख कमलसिंह बोहराले बताए । मन्त्रालयले हाकिम पनि पठाएको छैन् भने नगरपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पनि आर्थिक अख्तियारी दिएको छैन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी रोकिएको छ भने कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् । अतिआवश्यक कामहरु थाती रहेका उपप्रमुख बोहराले बताए ।
नगरपालिकामा हाकिम पठाइदिनुपर्ने भन्दै नगर प्रमुख गौरीसिंह रावल काठमाण्डौं पुगेका छन् । तर मन्त्रालयले अहिले सम्म कसैलाई हाकिम नपठाएको उनले बताए ।





