बैतडी –बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिव पदस्थापन तथा सरुवा गरेको हो ।
मन्त्रालयले दशरथचन्द नगरपालिकामा हरिबहादुर भुजेल र पाटन नगरपालिकामा अर्जुन शर्मालाई खटाएको छ । यी दुवै नगरपालिकामा हकिम नहुँदा कामकाज रोकिएको थियो । दुवै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा मन्त्रालयले उपसचिव खटाएको हो ।
पाटनमा यो भन्दा पहिला आएका उपसचिव ओमप्रसाद पाण्डे एक महिना नहुँदै सरुवा भएपछि पाटन नगरपालिका हाकिम विहिन भएको थियो । नगर प्रमुख गौरीसिंह रावल हाकिम खोज्न काठमाण्डौं पुगेका थिए ।
यस्तै दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि दशरथचन्द नगरपालिका पनि हाकिम विहिन भएको थियो । मन्त्रालयले दनपामा हरिबहादुर भुजेललाई खटाएको छ । नयाँ हाकिम आएपछि कार्यालयमा रोकिएका कामहरु सुचारु हुने नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।
यस्तै पाटन नगरपालिकामा पनि लामो समयदेखि भुक्तानीका कामहरु रोकिएकाले नयाँ हाकिम हाजिर भएपछि मात्रै योजनाको भुक्तानी लगायतका कामहरु सुचारु हुने नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।





