Sagun Khabar
बैतडीः जिर्ण बन्दै  देन्वालो, मर्मतसम्भारको माग 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौमा रहेको ८० वर्ष पुरानो  देन्वालो जिर्ण वन्दै गएको छ । १९९८ सालमा निङ्गलाशैनी भगवती मन्दिरमा जल चढाउन निर्माण गरिएको सो कुवा संरक्षण अभावमा जिर्ण बन्दै गएको हो  ।

कुवाको पानी संरक्षणका लागि निर्माण गरिएको सिलेटको छानो र भित्ताहरु भत्किने अवस्थामा पुगेको स्थानीय शंकर बोहराले बताए ।  घेर पर्खालको उचित प्रवन्ध नहुंदा वजार क्षेत्रको भल कुवामा मिसिने भएकाले पानी दुर्गन्धित हुने गरेको उनले  बताए ।

झण्डै ८ हजार लिटर पानी भण्डारको क्षमता भएको सो न्वालो  निङ्गलाशैनी  मन्दिरमा जल चढाउने उद्देश्यले  निर्माण गरेको भएपनि पछिल्लो समय स्थानीयले पिउने देखी लिएर कपडा धुने, गाईवस्तुलाई खुवाउने लगायतका प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् ।

कुवा निर्माण गरेको केहि वर्ष पछि पानी भर्ने क्रममा एक किशोरीको कुवामा डुवेर मृत्यु भएपछि मन्दिरमा सो कुवाको पानी चढाउन छोडिएको स्थानीयहरुले बताए। उक्त कुवा (देन्वालो)मा   १४ वटा सिंढि, झण्डै ८ फिट उचाई छ । बजारदेखी झण्डै १ मिटर दुरिमा रहेको देन्वालोे देहिमाण्डौ बजार र आसपासका वस्तीहरुको पानीको मुख्य श्रोत हो । यो न्वालोमा सुख्खायाममा समेत पानी नघट्ने गरेको  स्थानीयहरुले बताए ।

पछिल्लो समय देहिमाण्डौं वजार क्षेत्र र आसपासका ग्रामिण क्षेत्रमा घरघरमा धारा जडान गरिएपनि सरसफाइका लागि  यहाँका स्थानीयले यहि कुवाको पानी प्रयोग गर्ने गरेको स्थानीय व्यापारि भूपेन्द्र चन्दले बताए ।  यसको संरक्षणमा  सरकारले  ध्यान दिनु पर्ने स्थानीयहरुको भनाई  छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update