Sagun Khabar
नेपाली ग्राहकले धानेको भारतको झुलाघाट बजार, कोरानापछि सुस्तायो व्यापार 

बैतडी –बैतडी जिल्लाको सीमासंग जोडिएको झुलाघाट बजार बर्षौंदेखि नेपाली ग्राहकमा निर्भर रहेको छ । सीमा क्षेत्रका मात्रै नभएर विभिन्न ठाउँका नेपालीहरु सामान खरीदका लागि झुलाघाट बजार पुग्ने गरेका छन् । 

झुलाघाट बजारमा दैनिक उपभोग्य सामग्रीदेखि लिएर अन्य सामग्रीका लागि नेपाली ग्राहकहरु पुग्ने गरेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । उनले भने ‘झुलाघाट बजार नेपाली ग्राहकमा निर्भर छ । नेपालीहरु यताबाट दैनिक उपभोग्य सामग्रीदेखि लिएर अन्य सामग्री खरीद गरेर लैजाने गरेका छन् ।’

इष्टइण्डिया कम्पनीले करीब दुई सय बर्ष अगाडि महाकाली नदीमाथि बनाएको झोलुंगे पुलबाट आवतजावत गरिने यो नाकामा व्यापारको सेतु पनि सोही पुल बनेको छ । झोलुंगे पुलबाटै आवतजावत गर्ने र व्यापार व्यवसाय गर्नेहरु पनि यही पुल भएर आउने जाने गरेका छन् । 

झुलाघाट बजारमा ६० प्रतिशत बढी नेपाली ग्राहक रहेका पत्रकार भट्टको भनाइ छ । सीमा क्षेत्रमा बजारको सम्बन्धले समेत भाइचाराको सम्बन्ध कायम भएको उनको दाबी छ । भारतीय बजार झुलाघाटमा मात्रै नभएर नेपाली सामग्री खरीदका लागि भारतीय ग्राहक नेपाली बजार झुलाघाटमा पनि पुग्ने गरेका छन् । 

सीमापारी धेरै नेपालीहरु आँफै पनि व्यापार व्यवसायमा संलग्न रहेका छन् । पहिला पहिला चाडपर्वका लागि लुगाफाटो किन्न समेत झुलाघाट पुग्ने गरिन्थ्यो । तर पछिल्लो समयमा ग्राहकहरु भने घट्दै गएका छन् । 

नेपाली ग्राहकहरु घट्दै गएपछि धेरै व्यापारी व्यापार छोडेर पलायन समेत भएका पत्रकार भट्टले बताए । उनले भने ‘सीमा क्षेत्रमा भाइचाराको सम्बन्ध कायम गर्न समेत बजार व्यवसायको ठूलो हात छ । अहिले पनि वारीपारी नातागोताको सम्बन्ध रहेको छ ।’

कोरानाकालपछि झुलाघाटको व्यापार झन् सुस्ताएको व्यापारीहरु बताउँछन् । कोरोनाको बेला झुलाघाट नाका बन्द हुँदा व्यापार सुस्ताउँदै गएको व्यापारीहरुको भनाइ छ । कोरोना कालदेखि झुलाघाटमा नेपाली ग्राहक कम पुग्ने गरेका पत्रकार भट्टले बताए । उनले भने ‘कोरोना पछि नेपाली ग्राहक भारतीय बजारमा कम पुग्ने गरेका छन् । कोरानाकालेदेखि दुवैतिरको व्यापार सुस्ताएको छ ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update