बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले आजदेखि भुक्तानी शिविर सञ्चालन गरेको छ । वडामै पुगेर योजनाहरुको भुक्तानी गर्ने उद्देश्यसहित शिविरको आयोजना गरिएको नगर प्रमुख दिपकबहादुर बमले बताए ।
आज वडा नं ६ बाट शिविरको शुरुवात गरिएको पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले जानकारी दिए । उपभोक्ताहरुलाई सहज होस भनेर वडामै शिविर सञ्चालन गरिएको उनले बताए ।
आगामी जेठ ४ गते सम्म १० ओटै वडाहरुमा पुगेर भुक्तानीको काम गरिने बताइएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाबाट सञ्चालन भएका योजनाहरुको भुक्तानीका लागि भुक्तानी शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाले जनाएको छ ।
वडाहरुमै पुगेर भुक्तानी शिविर आयोजना गर्ने पुर्चौंडी नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो ।
यस्तै नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर आजैदेखि शारीरिक परीक्षण शिविर समेत सञ्चालन गरेको छ ।





