Sagun Khabar
बैतडीमा ‘लम्पी स्कीन’प्रकोपका रुपमा फैलियो

बैतडी –बैतडीमा घरपालुवा पशुहरुमा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ । लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लामा अहिले सम्म लम्पी स्कीनका कारण झण्डै ३ सय पशुचौपाया मरीसकेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । 

जिल्लाभरी लम्पी स्कीनका कारण ३ हजार १४६ पशुचौपाया बिरामी परेका पन्तले जानकारी दिए । सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको बताइएको छ । 

मेलौली नगरपालिकामा लम्पी स्कीनबाट १ हजार १ सय पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन् । यस्तै २ हजार ४ सय पशुचौपाया प्रभावि भएका छन् । यस्तै जिल्लाको पाटन नगरपालिकामा ३५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका ६ सय पशुचौपाया प्रभावित भएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

यस्तै पुर्चौंडी नगरपालिकामा लम्पीस्कीनबाट ८ सय पशुचौपाया बिरामी परेका छन् भने १७० पशुचौपाया मरेका छन् । पुर्चौंडीमा लम्पीस्कीनबाट १ हजार ८ सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सुर्नया गाउँपालिकामा २४० पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन् । सुर्नयामा लम्पीस्कीनबाट १ हजार २७५ पशुचौपाया प्रभावित भएका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिकामा ५ सय पशुचौपाया बिरामी परेका छन् भने ५० पशुचौपाया मरेका छन् । शिवनाथमा १ हजार २ सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ६८ पशुचौपाया बिरामी परेका छन् भने १४ पशुचौपाया मरेका छन् । दोगडाकेदारमा लम्पीस्कीनबाट २ सय ५० पशुचौपाया प्रभावित भएका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा ५० पशुचौपाया बिरामी परेका छन् भने १३ पशुचौपाया मरेका छन् । डिलाशैनीमा लम्पीस्कीनबाट २ हजार २ सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सिगास गाउँपालिकामा १७० पशुचौपाया बिरामी परेका छन् भने ४५० पशुचौपाया प्रभावित भएका छन् । 

लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए । 

पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने,खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन् । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको पशु प्राविधिकहरुले बताएका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update