Sagun Khabar
बैतडीमा बालविवाह रोक्न अभिभावकहरुलाई सक्रिय बनाइँदै 

बैतडी–बैतडीमा बालविवाह रोक्नका लागि अभिभावकहरुलाई सक्रिय बनाउन थालिएको छ । बालविवाहले पार्ने असरका बारेमा जानकारी गराई बालविवाह न्यूनीकरणका लागि अभिभावकहरुलाई तालिममार्फत सक्रिय बनाउन थालिएको हो । 

स्थानीय सरकारहरुसंग मिलेर संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पिसवीनले बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम अन्तर्गत अभिभावकहरुलाई तालिम दिने कार्य गरिरहेको पिसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । 

जिल्लाका ७ ओटा स्थानीय तहमा अहिले रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । ती स्थानीय तहहरुमा किशोरकिशोरीहरुको समूह गठन गरेर उनीहरुलाई रुपान्तरण प्याकेज अन्तर्गत साप्ताहिक कक्षा सञ्चालन गर्ने गरिएको छ । त्यस्ता कक्षामा सहभागी किशोरकिशोरीका अभिभावकहरुलाई बालविवाह न्यूनीकरण लगायतका बिषयमा तालिम दिने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

बालविवाह, लैंगिक हिंसा,घरेलु हिंसा लगायतका बिषयमा तालिममा अभिभावकहरुलाई जानकारी दिने गरिएको छ । बालविवाहले पार्ने असरका बारेमा थाहा भएपछि छोराछोरीहरुको शिक्षादिक्षामा बढी ध्यान दिनुपर्ने कुराको जानकारी भएको मेलौलीका स्थानीय चिन्तामणी भट्टले बताए । उनले भने ‘छोराछोरीको शिक्षामा लगानि गर्नु आवश्यक छ । २० बर्षपछि मात्रै विवाह गर्यो भने उनीहरुको जीवन पनि राम्रो हुन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।’

मेलौली नगरपालिकामा पनि बालविवाह गर्नेको संख्या उच्च रहेकाले अभिभावकहरुलाई यस्ता तालिमले सहयोग पुग्ने मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । उनले भने ‘बालविवाह मानिसको समग्र जीवनमा बाधा पार्ने भएकाले यसमा अभिभावकहरु सचेत हुनुपर्दछ । २० बर्ष मुनिको विवाहलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ ।’

बालविवाह न्यूनीकरणका लागि स्वयं अभिभावकहरु जागरुक हुनुपर्ने मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । यसका लागि नगरपालिकाका तर्फबाट गर्न सकिने सबै कामहरु गर्ने उनले बताए । 

बालविवाह एक सामाजिक समस्या भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । 

अभिभावकहरुका लागि सञ्चालन भएको रुपान्तरण तालिमले धेरै कुराको सिकाइ भइरहेको मेलौलीकी स्थानीय धाना भट्टले बताइन् । उनले भनिन्,‘हामीले धेरै कुरा सिकेका छौं । सानो उमेरमा विवाह गर्दा हुने घाटाका बारेमा थाहा पाएका छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update