Sagun Khabar
कुपोषित बालबालिका खोज्दै सुर्नया गाउँपालिका 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाहरुका लागि खोज अभियान शुरु गरेको छ । पालिकाका प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

जेड स्कोरिङ विधिबाट कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य शुरु भएको हो । जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार ल्याउने गरिएको महराले बताए । 

स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जागरुक गर्ने गरिएको छ । शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको महराले बताए । 

कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

सुर्नया गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको हो । बालबालिका कुपोषित भएमा भोलिका दिनमा समस्या आउने भएकाले उनीहरुलाई समयमै पौष्टिक खाना र आवश्यक उपचारमा पहुँच पुगोस भनेर यो अभियान शुरु गरिएको हो । 

पालिकाका ८ ओटै वडामा यो अभियान सञ्चालन हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update