बैतडी- बैतडीका सिडिओको पहलमा मजदुरले ज्याला पाएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको पहलमा दुई वर्ष पछि महिला मजदुरहरुले काम गरे बाफतको ज्याला पाएका हुन् ।
प्रजिअ पन्थीले जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ४ छेला स्थित कच्चि सडकमा गिट्टी कुट्ने स्थानीय महिलाहरुको ज्याला दिलाएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले जानकारी दिए ।
‘अस्ती शनिबार ३० गते रामपातल भन्ने ठाउँमा सिडिओ, डिएसपी सापहरु, एैसेलु खान गएछन् त्यहाँ गिट्टी कुट्ने महिलाहरुलाई देखेर कुराकानी गरेका रहेछन्, कुरागर्दा महिलाहरुले आफुहरुले दुई वर्ष देखि गिट्टी कुटेको पैसा नपाएको गुनासो गरेपछि ठेकेदार संग कुरा गरेर ज्याला प्रदान गरिएको छ,’ उनले भने ।
दुई वर्ष पछि तीन जना महिला कामदारले काम गरेबाफतको १ लाख ज्याला पाएका हुन् । सम्बन्धित निर्माण व्यवसायी संग कुरा गरेपछि आइतबार उनिहरुलाई पारिश्रामिक उपलब्ध गराइएको सूचना अधिकारी बोहराले बताए । ज्याला पाउँदा महिलाहरु पनि खुसि भएका छन् ।





