बैतडी- बैतडीको सिगासमा चेकको विषयलाई लिएर कुटाकुट भएको छ । गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच विहीवार कुटाकुट भएको हो ।
उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको बताइएको छ । कुटपिटबाट समितिका अध्यक्ष वीरेन्द्रसिहं धामी घाइते भएका छन्। कुटपिटबाट घाइते उनी अस्पताल भर्ना भएका छन् ।
गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गामुडा, र लात्ताले कुटेको घाइतेको गुनासो छ । गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन्। गाउँपालिकाले विज्ञप्ती निकालेर कुटपिट नगरिएको र बदनाम गर्न खोजीएको दावी गरेको छ ।
गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएको समेत पीडितको गुनासो छ । वडा नं ९ को देउलेकबाट सिगास–४ को वडा कार्यालय कान्धारसम्म गत वर्ष सडक खन्ने काम सुरु भएको थियो।यो वर्ष २७ सय मिटर सडक खन्न ३९ लाखमा सम्झौता भएको थियो। गाउँपालिकाले शुक्रवार विज्ञप्ती जारी गरेको छ ।
उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीले भुक्तानीको चेक बुझेर लगिसकेको अवस्थामा उनले नै सडक निर्माण कार्यमा प्रयोग भएको स्काभेटरका चालक दिपेन्द्र अधिकारीको किर्ते हस्तार गरी तयार गरेको सम्झौता पेश गरी भुक्तानी लिएको जानकारी प्राप्त भएकाले कृषि विकास बैंक शाखा सिगासलाई पत्र लेखि सो चेक रोक्का गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।





