बैतडी- बैतडीका मूर्तिकार जयबहादुर पार्की अचेत छन् । काष्ठ कलाकर्मीका रुपमा परिचित बैतडीको दोगडाकेदार गाउँपालिका ८ का ३९ वर्षिय पार्की करिब दुई हप्ता देखि अचेत अवस्थामा रहेका भाइ मनोज पार्कीले बताए ।
पारिवारिक स्रोतका अनुसार कञ्चनपुरको शुक्लाफाटा १ कालागवडीमा बस्दै आएका पार्कीको बैशाख २८ गते काम गर्ने बेला एक्कासि स्वास्थ्यमा समस्याको आएको थियो ।
स्वास्थ्यमा समस्या आएर अचेत भएका उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । अहिले उनको आईसीयूमा राखेर उपचार भैरहेको र चेत नखुलेको आफन्त गणेश पार्कीले बताए । चेकजाँचका क्रममा डाक्टरले पार्कीको ब्रेनमा समस्या आएपछि अचेत हुन पुगेका बताएका छन् ।
उपचाररत पार्कीलाई औषधी किन्न पनि अहिले समस्या भएको छ । करिब दुई हप्ता देखि दाई अचेत अवस्थामा रहेका र औषधी किन्न पनि समस्या भएको भाइ मनोजले बताए । मूर्ति कोरेर कलाकर्मबाट परिवार पालिरहेका पार्कीको उपचारमा आर्थिक अभाव भएकाले परिवारले सहयोगका लागि सबैलाई अपिल गरेका छ्न् ।
पार्कीले दर्जनौँ मन्दिरमा देवीदेवताका मूर्ति, टुँडाल तथा चित्रकला बनाइसक्नुभएको छ ।उनी काठ, सिमेन्ट र धातुका मूर्ति बनाउने गर्दछन् ।





